१, पार्टी थलोको अनेपाली नाम छ ‘पेरिसडाँडा’, कुरा गर्छौ मध्ययुगीन फैजी राष्ट्रवादका । जस्तो सोच उस्तै नाम-बरु ‘फैजीडाँडा’ राख ।
२, बस्छौ सिंङ्गै हेबलीमा, चढ्छौं आधा करोडको गाडी, लिन्छौं राज्यको सुरक्षागार्ड, खान्छौं जर्नेलको सलामी, ताक्छौं दरादरा मन्त्रीपद र गुड्डी हाँक्छौं ‘जनविद्रोह’को । कमरेड, जीवनशैली र कुरा बाझे । कि जे हौं त्यही हुँ भन, कि जे भन्छौं त्यो गरेर देखाऊ । लज्जाजनक गाईजात्रा नगर ।
३, आफ्नै नेताको निन्दा गर्दागर्दा कम्निष्ट शब्दकोशका निन्दाका शब्दजति सकिए । आफ्नो महलका भाषाशास्त्रीहरुद्धारा ‘वृहत् निन्दा शब्दकोश’ निर्माण गर ।
४, तथ्य, तर्क, युक्ति, दृष्टान्त र यर्थाथबोधमा आँखा लाग्न छाडे । जग हसाउँदै आफ्नै पार्टीका हस्तीहरुको निन्दा नगरी खान नपच्ने भो । तै तै पार्टीको नाम ‘गालीवाद-निन्दावाद-भर्त्सनावाद’ राख ।
५, शान्ति र संविधान ठोस वर्तमान हो, क्रान्ति सून्दर भविश्यको आदर्श कल्पना हो । वर्तमानमा विश्वास छैन, भविश्यको मूर्त मार्गचित्र छैन । खुट्टा धर्तीमा छन्, मन तरंगी स्वैरकल्पनामा आकाशमा भौतारिइरहेछ । कमरेड, इमानका साथ भन- म शून्यवादी हुँ ।
६, बाह्रबुँदे सम्झौताको लगनगाँठो सम्झौताको लिखत हो । सम्झौताको राजनीतिमा आफ्नो आदर्श, आफ्नो मार्गचित्र र आफ्नो भाषा सिंङ्गै र सग्लै हुँदैन । लागू होस् भन्ने जिद्दी केवल उन्मादी हठ हो । कमरेड, कि कठोर यर्थाथका सीमासँग सम्झौता गर, कि खुरुक्क चुनवाङ पछाडि र्फक ।
७, बिहान ‘जनबिद्रोह’ को उग्र गर्जन, दिउँसो ‘जनसंविधान’ को मधुरो घुर्की, बेलुकी ‘म शान्ति र संविधान विरोधी होइन’ भन्ने लाचार सफाइ । कमरेड, तीन जीब्रे हास्यास्पद पत्र हुन छाड र एउटै जीब्रोमा स्थिर होऊ ।
८, तुच्छ अन्तरकलहले पार्टीको उर्जा धुजाधुजा हुँदो छ, नेतृत्वको साख गिर्दो छ, जनताको विश्वास घट्दो छ र सौदाबाजी गर्ने सामथ्र्य नासिँदो छ । कमरेड, पार्टीको खरानीमा जनमुक्तिको सपना देख्ने भष्मासुरे प्रवृत्ति परित्याग गर । खरानीको मोह छाड्न नसके बरु खरानी घसेर जोगी होऊ ।
९, आफ्नो इतिहास आफै लेखिँदैन, लेख्ने अरु नै हुन्छन् । आफूमात्र शुद्ध र चोखो क्रान्तिकारी देखिन लेखिन ‘नोट अफ डिसेन्ट’ केबल मुतको न्यानो हो । अग्रगामी परिर्वतनको पक्षमा सौदाबाजी गर्ने आफ्नै सामर्थ्य सखाप पार्दै लेखिने ‘नोट अफ डिसेन्ट’ मूत्रमार्ग हो । आजको ‘नोट अफ डिसेन्ट’ मार्गीलाई भोलिको इतिहासमा ‘मूत्रमार्गी’ भनिने डर छ । बुद्धि भए हेक्का राख ।
१०, लाल नेता मौजावाल जिम्दार होइन, जनता त्यस्तो जिम्दारको हरुवाचरुवा होइनन् । विप्लव र क्रान्तिको परिस्थिति र मनस्थिति परिपक्क हुन दशकौं लाग्छ । कसैको मनचिन्ते लहडको भरमा ‘जनबिद्रोह’को आहृवान गर्दैमा ‘जदौ प्रभु’ भन्दै जनता भेडासरि लाम लाग्न आउँदैनन् । कमरेड, शान्ति र संविधानको बाटोबाट सानै भएपनि केही न केही उपलब्धि हुन्छन् । तसर्थ, मनचिन्ते कल्पनाको मनभोग देखाएर जनताको सम्भावित रुखोसुखो खान्की नखोस् ।
११, मार्क्स रहेनन्, लेनिन गए, माओ अलप भए । तैपनि संसार चलिरहृयो । लोकको अधिपति मै हुँ, मविना जगत ठप्प हुन्छ भन्ठान्नु खस्रे भ्यागुताको भुँडी फुलानजस्तै दम्भ हो । कमरेड, आफ्नो वास्तविक आकारमा प्रस्तुत होऊ, खस्रे भ्यागुताको चेलो नबन ।
जनआहृवानबाट सभार
0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):
Post a Comment