हलिउड अभिनेत्री ‘डेमी मुर’को १६८ घण्टा नेपालमा

-अश्विनी कोइराला,
तीन सन्तानकी आमा तथा ४८ वर्षिया महिला कस्ती देखिन्छिन् ? सबैले सजिलै भन्ने कुरा हो, जीवनबाट थाकिसकेकी, रोग निम्त्याउन थालेकी एवं निराश । यदि हलिउड कलाकारको कुरा गर्ने हो भने उनीहरू सुन्दर त देखिएलान्, तर मानसिक रोगले ग्रस्त हुन सक्छन् । यद्यपि हालै नेपाल आएकी  हलिउडकी चर्चित नायिका डेमी मुर ती सबैबाट टाढा थिइन् । उनमा अहिले पनि मै हुँ भन्ने युवालाई गलाउन सक्ने सुन्दरता देखिन्थ्यो । मुस्कान र बडी ल्याङ्वेजले बोल्छ, भर्खरै उनी १९ वर्षे बैंसमा मस्त छिन् ।

कुरा गत साता मुरले नेपाल भ्रमणमा बिताएका १ सय ६८ घण्टाको हो । सीएनएन हिरो अनुराधा कोइरालाको निमन्त्रणामा नेपाल आएकी सन् ९० को दशककी सबैभन्दा महँगी नायिका मुरको भेट ठीक त्यसैबेला अनुराधासँग हुन पुग्यो, जुनबेला उनी डी एन्ड ए नामको एउटा गैरसरकारी संस्था खोलेर भर्खरै समाज सेवामा प्रवेश गरेकी थिइन् । उक्त संस्थाले विश्वव्यापी रूपमै मानव दासता उन्मूलन गर्ने अभियान छेडेको छ। ‘वास्तविक पुरुषले महिलालाई  बेचबिखन गर्दैन, माया गर्छ’ भन्ने वाक्यलाई उनको संस्थाले आफ्नो मुख्य नारा बनाएको छ । मुरको यही अभियानका कारण सीएनएन हिरोज कार्यक्रममा अनुराधाको परिचय गराउने जिम्मा मुरले लिएकी थिइन् । उनीहरू दुवैको त्यही स्टेजमा पहिलोपटक परिचय भएको थियो ।
नेपालमा पूरै एक साता बिताएकी डेमीको पूरा नाम डेमी गिनेस कुचर हो । टेलिभिजन शृंखला जेनरल हस्पिटलबाट अभिनययात्रा प्रारम्भ गरेकी डेमी सेन्ट एल्मोज् फायर -१८८५) बाट हलिउडमा स्थापित नायिकाका रूपमा प्रख्यात भइन् । सन् १९९० मा चलचित्र घोष्टका लागि १ करोड डलर लिएर सबैभन्दा महँगी नायिकाका रूपमा आफूलाई उभ्याइन् । त्यसपछि १ करोड डलर लिएर उनले लगातार अ फ्यु गुड मेन -१९९२), इन्डिसेन्ट प्रपोजल -१ ९९३) एवं डिस्क्लोजर -१९९४) जस्ता चलचित्रमा अभिनय गरिन् ।
तिनै ग्लामरस युवती अप्रिल १ तारिखमा ड्रागन एयरको जहाजबाट काठमाडौं ओर्लंदा साधारण पहिरनमा थिइन् । मुरसँग विश्वप्रशिद्ध समाचार च्यानल सीएनएनका ९ जना पत्रकारको टोली पनि थियो । रात्रीको १० बजे काठमाडौं ओर्लिएकी मुरको टोलीलाई गौशालास्थित होटल द्वारिकाजमा राख्ने व्यवस्था  मिलाइएको थियो । सीएनएन टेलिभिजनले डेमी मुर र अनुराधा कोइरालाले गरेका कामका विषयमा एक घण्टा लामो डकुमेन्ट्री बनाउने योजनाका साथ त्यो टोलीलाई पठाएको थियो, जसको नाम ‘फ्रिडम प्रोजेक्ट’ राखिएको छ । सन् २०११ भरी विश्वभरिमा हुने महिला बेचबिखनका समाचारलाई प्राथमिकता दिने नीतिअन्तर्गत डेमी मुरलाई त्यसको ब्रान्ड एम्बेस्डर बनाएका कारण पनि डेमी मुरको पहिलो भ्रमणमा नेपाल परेको थियो । कार्यक्रमलाई गोप्यरुपमा सुटिङ गर्ने योजनाका साथ उनीहरू नेपाल आएका थिए ।
अप्रिल २ मा द्वारिकाज होटलबाट सिएनएनको पत्रकार टोली र मुर माइती नेपालको परिसर पुगेका थिए । माइती नेपालमा आश्रीत महिला तथा बालबालिकाले उनीहरूको स्वागत गर्न थालेपछि पत्रकार टोलीले आफ्नो काम प्रारम्भ गरेको थियो । दुई घण्टा लगाएर आश्रतिहरूसँग भेट गरेपछि मुरले  सबैका अघि संसारभरि नै महिला बेचबिखनको समस्या रहेको बताइन् । ‘तपाईंमात्र बेचिनु भएको छ, म मात्र समस्यामा थिएँ भनेर चिन्ता गर्नुभएको छ भने त्यस्तो चिन्ता आवश्यक छैन ।’ मुरले पुनःस्थापित महिलाहरूसँग भनिन्, ‘अमेरिकी सहर क्यालिफोर्नियामा पनि साउथ अमेरिकाबाट हजारौं युवती ल्याइन्छन् । फरक के छ भने तपाईंहरूलाई थाहै नदिइ बेचिन्छ, उनीहरू रोजगारीका नाममा थाहा पाएरै बेचिन्छन् ।’
त्यही दिन मुरको टोली माइती नेपालको गोकर्णस्थित एचआईभी संक्रमित महिला तथा बालबालिका पुन:स्थापना गृह पुगेको थियो । नेपालमा पनि व्यवस्थित रूपमा एचआईभी संक्रमित महिला तथा बालबालिकालाई राखिएको देखेर छक्क पर्दै मुरले माइती नेपालको टिमलाई धन्यवाद दिएकी थिईन् ।
न्यू मेक्सिकोको रसवेलमा जन्मिएकी मुरको बाल्यकाल दुःखद थियो । दुई महिनाकी छँदा उनका बुबा उनकी आमालाई छाडेर बेपत्ता भएका थिए । उनकी आमाले ड्यानी गिन्स नामका पुरुषसँग दोस्रो विवाह गरिन् तर ड्यानीले त्यसको एक वर्षमै आत्महत्या गरे । यसले कलिली मुरको मनमा त्रासयुक्त जीवनको बोध गरायो । उनले आफ्नो बाल्यकालमा करिब ४० वटा डेरा सरेको अनुभव सुनाएकी छिन् । आमा र सौतेले बुवा दुवैमा रक्सीको लत बसेका कारण दुबै बेलाबेलामा मारपिटमा ओर्लन्थे । त्यही पीडामा ड्यानीले आत्महत्या गरेको हुनसक्ने मुरको अनुभव छ ।
केही महिनाअघि माइती नेपालमा कलकत्ताको बेश्यालयबाट उद्धार गरिएकी महिला आइपुगेकी थिइन् । शिशुसहित बेचिएकी ती महिला नेपाल त फर्किइन्, उनको छोरो भने कोलकातामै रह्यो । माइती नेपालले भारतस्थित भगिनी संस्था माइती इण्डियाको सहयोगमा उक्त शिशुलाई फर्काउन सफलता प्राप्त गर्‍यो । ठीक त्यही बेला मुर दोस्रो पटक माइती नेपालको परिसरमा पुगेकी थिइन् । एयर इन्डियाको फ्लाइटबाट उक्त शिशु माइती नेपाल पुगेपछि छोरा  भेटेकी पुनःस्थापित महिला डाँको छाडेर रुन थालिन् । मुर र सीएनएनको टोली सुटिङ छाडेर त्यो दृश्यमा समाहित हुन पुग्यो । तीन छोरीकी आमा मुरले तुरुन्तै त्यहींबाट आफ्ना छोरीहरूसँग फोन सम्पर्क गर्दै उनीहरूको सम्झना आएको बताइन् । एउटी छोरीले आइ लभ यु ममी भनेपछि आँसु पुच्छदै मुरले पुर्नस्थापित महिलालाई सान्त्वना दिइन् ।
अप्रिल ३ मा मुर फेरी गोकर्णस्थित माइती नेपालको पुनःस्थापना केन्द्र पुगिन् । त्यहाँ उनी बालबालिकासँग ‘वटरफ्लाई वटरफ्लाई बीच कलर डु यु लाइक’ गीतमा नाचिन् । त्यसपछि संगीत सुन्ने मुडमा पुगेकी मुरलाई माइती नेपालको सांगीतिक टोलीले अकेष्ट्रा संगीतको स्वाद चखायो । आफ्नो सेक्रेटरी र नेपालस्थित अमेरिकी राजदूतावासबाहेक कसैलाई जानकारी नदिइ नेपाल आएकी हुनाले उनी निर्धक्क माइती नेपालको कार्यक्रममा सरिक भैरहेकी थिइन् । कार्यक्रमपछि माइती नेपाल र मुरको समूहबीच द्वारिकाज होटलमा डिनर सम्पन्न भयो । उक्त कार्यक्रम पनि गोप्य राखिएको थियो ।
अप्रिल ४ मा नेपाल-भारत सिमामा बेचिन लागेका चेलीहरू कसरी पत्ता लाग्छन् ? कसरी उनीहरू नेपाल फर्काइन्छन् भन्ने कुराको जानकारी लिन मुर र पत्रकारको टोली भैरहवाको सुनौली पुग्यो । माइती नेपालका कर्मचारीसँगै मुरले पनि सीमा पारी जाने महिलाहरूलाई कहाँ जान लागेको ? तपाईं को सँग सीमा पारी जाँदै हुनुहुन्छ भनेर सोध्न थालिन् । चैतको दोस्रो साताको चर्को घाममा दुई घण्टाभन्दा बढि सुनौली बोर्डरमा संसारकै धनीमध्ये एक कलाकार नेपाली महिलाहरूको चासो राख्दै थिइन् भन्ने कुरा कसैले सोच्ने कुरा पनि भएन ।
अप्रिल ५ मा मुम्बईमा बेचिएकी एउटी युवती माइती नेपालको सहयोगमा आफ्नो गाउँ रसुवाको राम्चे फर्कदै थिइन् । मुरले पाँचवर्षे नारकीय जीवन बिताएपछि गाउँ फर्कन लागेको एउटा कारुणिक दृश्यको साक्षी हुने रहर गरिन् । मुरजस्ती विश्वप्रख्यात कलाकार रसुवाको राम्चे गाउँ पुग्न सक्छिन् भन्ने विश्वास न त माइती नेपाललाई थियो, न त सिएनएनको टोलीलाई तर बिहान ७ बजे दुईवटा जीप, एउटा कार र एउटा अर्को गाडीसहितको टोलीले काठमाडौं छाड्यो । करिब ६ घण्टा लामो सवारी र एक घण्टा पैदल यात्रा गरेर टोली रसुवाको राम्चे पुग्यो । परिवारलाई आफ्नी छोरी फर्कंदैछिन् भन्ने थाहा भए पनि कहिले फर्किंदैछिन्, कसरी फर्कींदैछिन् केही थाहा थिएन । अचानक ठूलो तामझामका साथ मानिसहरू पुग्दा त गाउँनै अचम्ममा पर्‍यो । त्यो  रमझम धेरै समय रहेन । परिवारको पुर्नमिलन समारोह फेरी पनि आँसु र मायामा चुर्लुम्म डुब्यो ।
सन् १९८० मा असाध्यै अप्ठ्यारो आर्थिक अवस्थामा मुरले १७ वर्षको उमेरमा प्रामेडी मूर नामक युवकसँग विवाह गरेकी थिइन् । जीवनमा प्रगति गर्नका लागि विवाह बाध्यता थियो । मुरसँग विवाह गरेपछि उनले हलिउडको रंगीन दुनियामा प्रवेश गरेकी हुनाले उनको नामपछाडि मुर जोडिएको हो । उनका श्रीमान् सामान्य व्यापारी थिए तर उनी यति प्रशिद्ध भइन् कि प्रामेडी मुर आफ्नी श्रीमतीको प्रगतिबाट असन्तुष्ट हुन थाले । यो अवस्था कायम राख्नु उचित थिएन । फलस्वरुप मुरले सन् १९८७ मा ब्रुस विलिससित विवाह गरिन् । ब्रुसबाट तीन छोरी जन्मिए । उनीहरूको त्यो विवाह सन् २००० मा टुङ्गियो । त्यसपछि असल श्रीमान्को खोजी गर्दै र तीन छोरी स्याहार्दै उनले ५ वर्ष बिताइन् । अन्ततः उनले चर्चित कलाकार अस्टिन कुचरसँग विवाह गरिन् । मुरभन्दा ५ वर्ष कान्छा अस्टिनसँग दुई वर्षे प्रेमपछि वैवाहिक सम्बन्ध गाँसिएको हो । अहिले अस्टिन हलिउडका सबैभन्दा व्यस्त नायक भएका छन् भने मुर टेलिभिजन कार्यक्रमको निर्माण एवं विभिन्न ब्राण्डकी प्रस्तोता बनेकी छिन् ।
राती ११ बजे रसुवाबाट फर्किएकी मुर भोलिपल्ट ११ बजेसम्म कोठामै पल्टिरहिन् । २ बजे प्रधानमन्त्री झलनाथ खनालसँग भेट्ने कार्यक्रम भएकाले उनलाई हतार पनि थिएन । झलनाथ खनालसँगको भेटमा मुरले आफू नेपालमा हुने चेलिबेटी बेचविखनको अपराधबाट द्रवित भएको बताइन् ।
‘तपाईंको चेलिबेटी बेचविखनप्रतिको धारणा के हो ? यसमा के प्रतिबद्धता जनाउन चाहनुहुन्छ ?’ मुरले प्रधानमन्त्री खनालसँग प्रश्न गर्दै भनिन्, ‘म देशको  प्रधानमन्त्रीसँग यो देशका चेलिबेटीको दुर्दशाको जानकारी छ कि छैन भनेर जान्न चाहन्छु ।’ प्रत्युत्तरमा प्रधानमन्त्री खनालले महिलाहरू शिक्षाबाट बञ्चित हुनुनै प्रमुख समस्या भएको जनाउँदै नेपाली महिलालाई अनिवार्य र निःशुल्क शिक्षा दिन आफू लागिपरेको बताए । प्रधानमन्त्रीले सरकार चेलिबेटी बेचबिखनका लागि चिन्तित रहेको बताउँदै गृह मन्त्रालय र महिला मन्त्रालयले विभिन्न योजनाका साथ काम गरिरहेको कुरा बताएर हलिउड अभिनेत्रीलाई आश्वस्त तुल्याए । प्रधानमन्त्री खनालसँगको भेटपछि अभिनेत्री मुर औपचारिक रूपमा सार्वजनिक सञ्चारमाध्यममा आइन् । त्यसपछि भने उनले नेपाली प्रेससँग भेट्ने इच्छा देखाइन् ।
मुरको आग्रह बमोजिम भोलिपल्ट पत्रकार सम्मेलन राखिएको थियो । यद्यपि उनले आफ्नो वैवाहिक एवं प्रेम प्रसङ्गका बारेमा नसोध्न आग्रह गरेकी थिइन् । उनको चिन्ता सन् १९९१ को अगस्त महिनामा ‘भेनिटी फेयर’ पत्रिकाको मुखपृष्ठमा प्रकाशित नाङ्गो तस्बिरका बारेमा प्रश्न नआओस् भन्ने हुनसक्छ । फोटोग्राफर एनी लेबोभित्जले खिचेको उक्त तस्बिर विश्वको सर्वाधिक विवादित तस्बिर मानिन्छ । उक्त तस्बिर खिच्दा उनी गर्भवती थिइन् । उक्त निर्वस्त्र तस्बिरले हलिउडको सबैभन्दा कुरुप वा ग्ल्यामरबिनाको तस्बिरको उपमा पाएको थियो । उक्त तस्बिरले डेमी र पत्रिका दुवैको पक्ष तथा विपक्षमा ठूलै बहस चल्यो । गर्भवती सेलिब्रेटी नाङ्गै देखिनु हुन्छ कि हुँदैन भन्ने विषयमा कडा छलफल हुन थाल्यो । टीभी, रेडियो र पत्रपत्रिका त्यही छलफलमा रङ्गिए । यद्यपि अमेरिकी समाजमा अहिले यो बहस टुङ्गिसकेको छ । यद्यपि विश्वभरी छरिएका उनका प्रशंसकहरूले भने मुरको उक्त तस्बिरलाई बिर्सिएका छैनन् ।
अप्रिल ७ मा मुरले नेपाल छाड्ने कार्यक्रम थियो । नेपाल छाड्नुअघि उनले द्वारिकाज होटलका सबैजसो कर्मचारीलाई बोलाएर गतिलो टिप्स दिँदै आफूले होटलमा छँदा बिताएका कुनै कुरा पनि बाहिर नपुर्‍याउन आग्रह गरिन् । त्यसपछि माइती नेपालमा प्रवेश गरेकी मुरले फेरि त्यहाँ आश्रति महिला तथा बालबालिकासँग केही समय बिताइन् । नेपाल छाड्ने बेलामा उनले आफूले कामको व्यस्तताका कारण नेपालको सौन्दर्य बोध गर्न नसकेको भन्दै श्रीमान् र छोरीहरूसँग फुर्सदमा नेपाल घुम्न आउने प्रतिबद्धता व्यक्त गर्दै एयरपोर्टतर्फ लागिन् ।

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):