यसरी हुन्छ अनलाइन सपिङ


यसरी हुन्छ अनलाइन सपिङ

भीषण राई
अबेर उठे प्रमोद। हिजो बेलुकीको लेट नाइट बसाइले पनि बिहानीको निद्रा लामो भयो। टेबलमा नेट एक्सेस ल्यापटप घोप्टिएको छ। सधैंझैं उनको लेट उठाइ तर आज आमाको मुख हेर्ने दिन। परेन फसाद ! नो चिन्ता, उनले तुरुन्तै सपिङ साइट खोले। आमालाई भर्चुअल उपहार ल्यापटपबाटै अर्डर दिए। केही क्षणमै सपब्वाइले उपहार ल्याएर ढोकाको घण्टी बजाइहाल्यो। आमा पनि खुसी, प्रमोदको टेन्सन साफ। यसरी अनलाइन बसेर क्लिक गरेर  यस्तो सुविधा पाउन सकिन्छ, अर्थात् अब अनलाइन व्यवसायले हाम्रो माग तत्काल पूरा गरिदिनेछ। क्लिक गरेको केही समयपश्चात् समान आफ्नो घरमा हुनेछ।


के चाहनुहुन्छ, कहाँ चाहनुहुन्छ, आवश्यक सम्पर्क अनलाइनमा पोस्ट गर्नुपर्छ। अर्डर पर्खेर कहाँ पुर्‍याउनुपर्ने हो, अनलाइन सपिङकेन्द्रहरू तयार छन्। नेपालमा एक दर्जन अनलाइन सपिङ केन्द्र छन्, जहाँ आफूले चाहेका दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सम्पूर्ण सामग्री घरमै बसीबसी छानेर सपिङ गर्ने सुविधा छ। अनलाइन सपिङमा ल्यापटपअगाडि बसेर चाहिएको सामग्रीमा क्लिक गरी आफ्नो भर्चुअल अकाउन्टबाट पैसा तिर्न सकिन्छ। सडकको  जाम एवं झन्झटबाट मुक्तिका साथै समयको बचत यसका थप फाइदा हुन्।

डेलीभरीका लागि राजधानीका स्थानमा केही समय लाग्छ भने टाढाका ग्राहकका लागि भने दुई दिन, तर पनि अनलाइन सेवाले उनीहरूलाई पनि डेलिभरी सेवामा कन्जुस्याइँ गरेको छैन। सम्भव भएसम्म नेपालका विभिन्न जिल्लासम्म सामान पुर्‍याइन्छ। त्यसका लागि भने कुरियर सेवाको सहयोग लिइन्छ। यसको सहज बारोबार भने ई-सेवाले नेपालमा लोकल पेपाल प्रारम्भ गरेपछि ह्वात्तै बढेको हो। ई-सेवाबाहेक अन्य साइटले पनि नेपाली रुपैयाँ तिर्ने  ई-कमर्स सेवा सुरु गरेका छन्। यसअघि डलरमा मात्र कारोबार हुन्थ्यो, अब भने नेपाली रुपैयाँमै यो सेवा उपलब्ध छ।

अनलाइन सपिङ केन्द्र

नेपालमा पनि अनलाइन सपिङ खुल्ने क्रम जारी छ। कति अझै सक्रिय छन् भने कति बन्दको स्थितिमा पुगेका छन्। नेपालमा मुन्चा डटकम, ठमेल डटकम, हरिला डटकम, बाईफ्रम नेपाल डटकम, ई-झोला डटकम, आइसप डटकम, सपमाण्डु डटकम, ई-सेवा डटकम, फुडमाण्डु डटकम जस्ता अनलाइन सपिङ केन्द्र सक्रिय छन्, जहाँ छानी-छानी सपिङ गर्न सकिन्छ। मुन्चा डटकम अनलाइन सपिङ ग्राहकको सेवामा अगाडि छ भने आफ्नो  अनलाइन सपिङमा धेरैभन्दा धेरै समान उपलब्ध गराउने होडमा छ। फुडमाण्डुले विशेषत ग्राहकलाई खाद्यवस्तु सेवा प्रदान गरिरहेको छ, जहाँबाट आफूलाई मन पर्ने परिकार अर्डर गर्न सकिन्छ। हरिलो डटकमले विदेशी सामग्रीलाई विशेष ग्राह्यता दिएको छ भने मुन्चाले स्वदेशी अनलाइन सपिङ क्रेजी नेपालीलाई टार्गेट गरेको छ। 'हामी सकेसम्म नेपाली जनतालाई अनलाइन सपिङको सुविधा पुर्‍याउन लागिपरेका छौं,' मुन्चा डटकमका कार्यकारी प्रमुख  अमृत तुलाधर बताउँछन्- 'हामी धेरै-धेरैभन्दा अनलाइन सामग्री राख्ने तयारीमा छौं।' मुन्चाले लोकल सपिङ कन्सेप्टलाई अँगालेको छ। त्यसैले मुन्चाको नाम अनलाइन सपिङमा अग्रस्थानमा छ। अझ सामग्री थप्ने काम जारी छ। मुन्चाले अनलाइन मलको कन्सेप्ट विकास गरिरहेको छ।

उपभोक्ताले अनलाइन सपिङमा क्रेडिट कार्ड, क्यास, बैंक, ई-सेवा, पेविल, पेवे, आइपेल आदि भर्चुअल अकाउन्टमार्फत  भुक्तानी गर्न सक्छन्। यसबाहेक एम क्यास, हेल्लो पैसा, मोबाइलमार्फत पनि भुक्तानी गर्ने सुविधा पनि प्रारम्भ भएको छ।

अनलाइन सपिङ केन्द्रमा कसैले फुल हाउसवेयर सामग्री उपलब्ध गराएका छन् त कतिले गिफ्ट, कम्प्युटर ल्यापटप, सौन्दर्य प्रशाधन, लत्ताकपडाजस्ता सामग्री र सेकेन्ड सपको अवधारणालाई विकसित गरेको पाइन्छ। ई-झोलाले चौबीसघण्टे सेवा प्रदान गरेको छ। बाईफ्रमनेपालले सबै नेपाली सप्लायरलाई एउटै छातामुनि राख्ने जमर्को गरिरहेको छ। यसले सप्लायर, निर्यातकर्ता एवं होलसेलरलाई जोड्ने योजना बनाइरहेको छ। मुञ्चा डटकमले पनि ५  दर्जनभन्दा बढी थोक विक्रेतालाई संगठित गरेको छ। ई-झोलाले पेय पदार्थ, एन्टी भाइरस, सेल फोन, कम्प्युटर ल्यापटप, कस्मेटिक सामान, शिक्षा, ग्याँस गिजर, हाउसहोल्ड र किचन सामग्री, मोटरसाइकल, सोलर क्याप, चललेट, थाङ्का, युपिएस इन्भरटर, वाटर प्युरिफायर, वेडिङ आदि सामग्री अनलाइन सपिङका लागि उपलब्ध गराएको छ। अनलाइन सपिङमा सेकेन्ड ह्यान्ड सामग्री बिक्रीदेखि पूजाको सामग्री समेत बिक्रीमा राखिएको छ।

प्रविधिको विकास क्रमले नेपालमा पनि अनलाइन सपिङको क्रेज बढ्दो छ। व्यस्त र आधुनिक जीवनको अपरिहार्य आवश्यकता बन्दैछ अनलाइन सपिङ ई-कमर्स (इन्टरनेटमार्फत हुने कारोबार)। नेपालमा पनि ई-सेवाले विदेशमा जस्तै लोकल पेपाल सुरु गरेपछि भने अनलाइन कारोबार फस्टाउँदो छ। सन् २०१० मा ई-सेवाले नेपालमा आफ्नो सेवा सुरु गरेको होे, जसले नेपालमा अनलाइन सपिङ गर्न यस्ता व्यवसायी र ग्राहकलाई सजिलो बनाइदिएको  छ। ई-सेवामा अकाउन्ट खोलेपछि लक्ष्मी बैंकको रोहबरमा नेपाली रुपैयाँको अनलाइन सपिङमा काम गर्न सकिन्छ। नेपालमा अनलाइन सपिङ गर्न गाह्रो भएकाले आफूहरूले यस्तो योजना बनाएको ई-सेवा नेपालका निर्देशक सुवास शर्माले बताए। ई-सेवाले नेपाली र अंग्रेजी दुवै माध्यममा साइट चलाउने सुविधा प्रदान गरेको छ। यसमार्फत नेपालमा ई-झोला डटकम, मुन्चा डटकम, ठमेल डट कम, हाम्रो बजार डटकम, बाई फ्रम नेपाल डटकम, आइर् शप डटकम, हरिलो डटकम, सपमाण्डु डटकम, ई-सेवा डटकम, आदि अनलाइन » सपिङ केन्द्रले साझेदारी गरेका छन् भने यसमार्फत ती केन्द्रमा हुने रकम ग्राहकले अनलाइन तिर्न सक्छन्। ई-सेवाले सजिलो र सुरक्षित अनलाइन कारोबार गर्छ। हाल एक दर्जन बैंक ई-सेवासँग पार्टनरका रूपमा सक्रिय छन्, जसमा लक्ष्मी बैंक, कुमारी बैंक, ग्लोबल बैंक, बैंक अफ काठमाण्डू, बैंक अफ एसिया, एनआइसी बैंक, एनसीसी बैंक, सुम्निमा विकास बैंक,  एसीई डेभलेपमेन्ट बैंक, किष्ट बैंक तथा कमर्स एन्ड ट्रष्ट बैंक र टुरिज्म बैंक आदि छन्।

समस्यामा अनलाइन सपिङ इकमर्स

नेपालमा ई-कमर्सको सुरुवात भैसकेको छ। कुनै पनि अनलाइन आर्थिक कारोबार नै ई-कमर्स हो। अनलाइन सपिङ भन्नेबित्तिकै आर्थिक कारोबार बुझिन्छ। त्यसैले नेपालमा भित्रिएको यो प्रणालीलाई ई-कमर्सको एउटा रूप मान्न सकिन्छ। नेपालमा सर्वप्रथम ठमेल डटकमले अनलाइन सपिङको सुरुवात गरेको थियो भने त्यसको निरन्तरता जारी छ तर पनि सन्तुष्टि भने मिलेको छैन। अनलाइन सपिङ ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी  भन्छन्- 'हामीले अनलाइन सपिङमा विभिन्न अवसर र उत्सव चाडबाडमा मात्र यस्तो सपिङको सुविधा दिएका छौं, अरू बेला खासै डिमान्ड आउँदैन। त्यो समयमा भने अनलाइन मनीको काम गरिरहेका हुन्छौं।' नेपालमा सर्वप्रथम ठमेल डटकमले खसी-बोकादेखि गिफ्ट अनलाइन सपिङको यो सेवा सुरु गरे पनि अहिले यो सीमित भएको छ। अनलाइन सपिङ पनि ई-कमर्सको मुख्य पाटो हो, तर एकरूपता नभएको र राज्यको नीति स्पष्ट नभएकाले  काम गर्न गाह्रो छ। मुख्यतः इन्फ्रास्टक्चर नहुनु, कल्चर नमिल्ने आदि कारणले पनि यस्तो भएको जोशी बताउँछन्।  अर्को माथिल्लो लेभलका नेपालीले मात्र यो सुविधा प्राप्त गर्न सक्छन् भने मध्यम र निम्नस्तरका जनताले यसको उपभोग गर्न सकिरहेको स्थिति छैन। धेरैलाई यस विषयमा जानकारी छैन। त्यसैले पनि यसका ग्राहक निकै कम छन्। थोरैलाई थाहा भए पनि सहरकालाई मात्र थाहा छ। इन्टरनेटको पहुँच कम भएको अवस्थामा नेपालमा  तिन प्रतिशत जनताले मात्र यसको प्रयोग गरिएको अनलाइन सपिङका प्रणेता ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी बताउँछन्। जोशी भन्छन्- 'नेपालमा इन्टरनेटको पहुँच निकै कम छ, त्यसैले अपेक्षाअनुरूप यसको विकास भएको छैन। त्यसैले पनि अनलाइन सपिङ निकै कम हुने गरेको छ, तर चाडबाडमा भने निकै ब्यस्त हुन्छ।' जोशी भन्छन्- 'नेपालमा ई-कमर्सका रूपमा ठमेल डटकमले विदेशमा रहेका नेपालीले पठाएको रकम डाइरेक्ट  नेपालमा भित्र्याउने प्रणाली विकास गरेको छ।' जसले सेवाग्राहीलाई प्रत्यक्ष फाइदा दिएको छ। अनलाइन सपिङलगायत अन्य कुनै पनि अनलाइन कारोबार गर्न नेपालमा सबैले आआफ्नै ढंगले चलिरहेको अवस्था छ। नेपालमा ई-कमर्सको सुरुवात भए पनि भरपर्दो क्लियरिङ हाउसको विकास नभएकाले ई-कमर्स विकृत भैरहेको अवस्था पनि छ। जसले गर्दा ग्राहक रनभुल्लमा पर्ने गरेका छन्। त्यसैले अनलाइन सपिङलगायत अन्य कुनै पनि विद्युतीय  कारोबार ई-कमर्समा पनि सरकारको ध्यान जानु जरुरी भएको छ। हाल भने इन्टरनेटभन्दा आमनेपालीको पहुँचमा पुगिसकेकाले मोबाइलमार्फत नै लोकल पेमेन्टको सुरुवात भए अनलाइन सपिङको क्रेज अझ बढ्ने थियो। यसका लागि सम्बन्धित निकायको ध्यान बेलैमा जानु आवश्यक भैसकेको छ।



सिंगल अनलाइन सपिङ

अनलाइनमा फिक्स सामग्री पनि बिक्री गरिन्छ, जहाँ कुनै एक सामग्रीको मात्र कारोबार हुन्छ। मुख्यतः आफ्ना सामग्रीको व्यापार-व्यवसायको प्रवर्द्धन गर्न पनि आफ्ना सामग्री अनलाइन बिक्रीमा राखिएको छ, त्यहाँ कुनै एक वस्तुको मात्र व्यावसायिक प्रवर्द्धन गरिन्छ। रुद्राक्षको व्यवसायका लागि नेपाली रुद्राक्ष डटकम- यो अनलाइन साइटमा रुद्राक्षका बारेमा जानकारीका साथै किनबेच पनि चल्छ। खुकुरी व्यापारका लागि खुकुरी नेट डटकम, गिफ्टका  लागि ठमेल डटकम, हिमालयन आर्टले नेपाली धातु तथा हस्तकलाका सामग्री, थाङ्का पेन्टिङ डटकमले थांका अनलाइन सपिङ सुविधा दिएको छ। अनलाइन सपिङले लाइभ च्याट सेवा र फोन सुविधा पनि प्रदान गर्दै आएका छन्। जहाँ ग्राहकले सपिङ केन्द्रका सहयोगीसँग प्रत्यक्षसम्पर्क गरी सोधपुछ गर्न सक्छन्। यसले पनि ग्राहकको ध्यान यतातिर तानिएको छ। यसबाहेक अन्य थुप्रै कम्पनी र र्फमले वेबसाइटको माध्यमबाट आफ्नो व्यवसाय प्रर्वद्धन  गरिरहेका छन्।



ग्लोबल सपिङ कन्सेप्ट

हरिलो अनलाइन सपिङले विशेषतः विदेशी सामग्री बिक्री गर्ने गरेको छ भने सपिङ नेपालले नेपाली पहिरनहरूको अनलाइन व्यवसाय गरिरहेको छ। हरिलो डटकमले अनलाइनमार्फत विश्वका सबै मुलुकबाट सामान खरिद-बिक्री गर्छ, जसका कारण ग्लोबल सपिङको कन्सेप्ट नेपालमा पनि भित्रिएको हो। हरिलोको अमेरिकालगायत अन्य मुलुकमा आफ्नै सपिङ केन्द्रहरू रहनुले पनि विश्वबजारका सामग्री नेपालबाट अनलाइनमार्फत खरिद गर्न सजिलो  भएको हो। नेपालमा दस महिनाअघि हरिलोले यो कार्यको सुरुवात गरेको हो। यहाँ नेपाली रुपैयाँ र अमेरीकी डलरमा विदेशी सामान खरिद गर्न सकिन्छ। कम्पनीले सिपिङ चार्ज मात्र लिन्छ भने उपभोक्ताले विश्वको लोकल मूल्यमा समान उपभोग गर्न सक्छन्। भविष्यमा अझ राम्रो कार्यक्रम ल्याउने यसका संस्थापक अक्ष स्थापित बताउँछन्। स्थापित भन्छन्- 'हरिलो अनलाइन सपिङले विश्वको कुनै पनि नयाँ प्रविधिका सामग्री छानी-छानी अनलाइन  बसेर किन्न सकिने सुविधा दिएको छ।' यसको विशेषता उपभोक्ताले सस्तो मूल्यमा सामान पाउनु हो। मुख्यतः यसले ग्राहकको विश्वास जितेको छ। हाल हरिलोमा दैनिक ४ हजारको डिमान्ड आउँछ। अनलाइनमार्फत माग हुने भएकाले नेपालभरका उपभोक्ताले यसको प्रत्यक्ष फाइदा लिँदै आएको सञ्चालकस्थापित बताउँछन्। यो अनलाइन सपिङले १० हजारभन्दा माथिको कारोबार भने निःशुल्क डेलिभरी सुविधा प्रदान गरेको छ। यसमा विदेशमा बसेर  स्वदेशमा सपिङ गर्न पनि सकिन्छ।



अकाउन्ट खोल्ने तरिका

कुनै पनि लोकल पे साइटमा गएर आफ्नो इमेल रजिस्टर गर्नुपर्छ। यो सेवा निःशुल्क हो। जस्तै ई-सेवाको साइट खोल्ने नयाँ प्रयोगकर्ताका रूपमा नाम इमेल ठेगाना सवमिट गर्नुपर्छ। त्यसपछि ई-सेवाले एउटा इमेल पठाउँछ त्यहाँ दिइएको लिंकमा क्लिक गर्ने र त्यसमा आएको र्फम भर्ने। त्यसपछि तपाई यसको ग्राहक सदस्य हुनुहुनेछ। यसको सेवा प्रयोग गर्न सक्नुहुन्छ। ई-सेवामा पैसा नभए मोबाइलको रिचार्जकार्ड जस्तै कार्डबाट पनि ब्यालेन्स  खातामा राख्न सकिन्छ। त्यसपछि त्यहाँ जम्मा भएको रकम विभिन्न शीर्षकमा खर्च गर्न सकिन्छ। ई-सेवासँग सहकार्य रहेका बैंकबाट कार्ड रिचार्ज गर्न सकिन्छ। यसमा १६ नम्बरको पिन कोड हुन्छ, जसलाई आफ्ना खातामा राखेर मूल्यअनुरूपको रकम खातामा जम्मा हुन्छ। यसको अनलाइन बैंकिङ पार्टनरको साइट खोलेर पनि ई-सेवामा पैसा पठाउन सकिन्छ। यसका लागि भने सदस्यको खाता कुनै पनि बैंकमा उपलब्ध हुनुपर्छ। मोबाइलमा जसरी  ब्यालेन्स भएको खण्डमा बोल्ने सुविधा हुन्छ। यसमा पनि रकम सञ्चित छ भने कुनै पनि अनलाइन सपिङमा खर्च गर्न सकिन्छ। यसबाट सम्पूर्ण अनलाइन पेमेन्ट गेटवे भएकाले यो सेवा आवश्यक हुन्छ। पैसा जम्मा गर्न ईसेवा रिचार्जकार्ड, इन्टरनेट बैंकिङ सुविधा भएको बैंक र काउन्टर डिपोजिट पार्टनर बैंकमार्फत वा आफ्ना साथीबाट पनि रुपैयाँ लिन सकिन्छ, तर साथी भने इसेवाको सदस्य हुनु जरुरी हुन्छ। यसको रिचार्ज कार्ड लक्ष्मी बैंक र  कुमारी बैंकमा उपलब्ध छन्। यसमा पैसा हुन आवश्यक छैन, तर कारोबार गर्दा भने रकम आवश्यक पर्छ। अनलाइन पेमेन्टका रूपमा इसेवाबाहेक अन्य पनि पेमेन्ट गेटवे भएकाले र थुप्रै बैंकसँग सहकार्य गरेकाले पनि अनलाइन सपिङका लागि इसेवा र अन्य लोकल गेटवे पेमेन्टको सदस्य हुनु आनिवार्य बन्दै गएको हो।



लोकल पेपाल ई-सेवा

अन्य मुलुकमा अनलाइन भुक्तानीका लागि पेपालमार्फत कारोबार हुने गरेको छ, तर नेपालमा भने भर्खरै मात्र लोकल पेपालको विकास भएको छ। नेपालमा ई-सेवाले लोकल पेमेन्ट गेटवे ई-पे तयार गरेपछि विद्युतीय माध्यमका आर्थिक कारोबार सहज भएको हो। लोकल पेमेन्ट गेट वेको विकास भएपछि भने अनलाइन सपिङको पनि व्यवसाय फस्टाउँदो छ। ई-पेका लागि उपभोक्ताले ई-सेवाको सदस्य भएर त्यहाँ आफ्नो रकम बैंकमार्फत जम्मा गरे  पनि सबै प्रकारका कारोबार सम्भव हुन्छ। ई-सेवाले हाल अनलाइनमार्फत नेपाल टेलिकम, खानेपानी, विद्युत् प्राधिकरण आदिको बिल तिर्ने सुविधा भिआईपी कल कार्ड, स्कुल कलेजको बिल, आईएसपी बिल पेमेन्ट इन्स्युरेन्स पि्रमियम पेमेन्ट क्रेडिट कार्ड बिल पेमेन्ट, चिकित्सक अनलाइन अप्वाइन्टमेन्ट आदि सुविधा लिन सकिन्छ। यसबाट पत्रपत्रिकाको ग्राहक शुल्क पनि तिर्न सकिन्छ। हवाई टिकट पनि खरिद गर्न सकिन्छ। अहिले भने बुद्ध एयरको  टिकट खरिद कार्य भैरहेको छ । लोकल पेपालका रूपमा ई-सेवाजस्तै अन्य पेविल, पेवे, आईपे आदि छन्। ई-सेवाले छिट्टै मोबाइल पनि यो सुविधा दिन लागेको छ। मोबाइलमा आमनेपालीको पहुँच भएकाले एसएमएस र थि्रजीमा पनि उपलब्ध गराइने ई-सेवाका निर्देशक सुवास शर्माले बताए। एफवान सफ्ट इन्टरनेसनले अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको हो। कम्पनीले अनलाइनमार्फत रकम आदानप्रदान, बिल भुक्तिानीजस्ता सुविधा उपभोग  गर्न सकिने गेटवे सुरु गरेको हो। कम्पनीले सुरु गरेको अनलाइन पेमेन्ट गेटवेमार्फत ग्राहकले घरै बसी-बसी बैंक ब्यालेन्स आदान-प्रदान गर्ने, नेपाल टेलिकम, विद्युत् प्राधिकरणको बिल भुक्तिानी गर्ने, स्कुल-कलेजको शुल्क बुझाउने, पत्रपत्रिकाको ग्राहक बन्ने जस्ता सेवा प्राप्त गर्न सक्नेछन्। यसबाहेक युटिलिटी बिल, पि्रपेड मोबाइल रिचार्ज कार्ड इन्टरनेट बिल भुक्तानी क्रेडिट कार्ड बिल भुक्तानीको सेवा प्रदान गरिएको छ। यसका लागि ग्राहकले ई-सेवा  डटकमएनपीमा गएर आफ्नो इमेल दर्ता गर्नुपर्छ। इमेलमार्फत दर्ता आवेदन दिएका ग्राहकलाई ई-सेवाले इमेलमार्फत लिंक पठाइदिने र निःशुल्क लिकबाट दर्ता हुन सकिने व्यवस्था छ। दर्ता भएका ग्राहकले आफ्नो एकाउन्ट पि्रफन्ड गर्न इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट एवं रिचार्ज कार्डमार्फत सक्नेछन्। ई-सेवाको काउन्टरमा गएर रकम बचत गरेर आफ्नो एकाउन्टमा रकम जम्मा गर्न सकिनेछ।

नेपालमा सञ्चालनमा आएका यस्ता अनलाइन सपिङ केन्द्रहरूले मदर डे, पहिरन, हस्तकला, बच्चाका लागि आवश्यक सामग्री, झोला, रक्सीजन्य पेयपदार्थ, किताब, कम्प्युटर, विद्युतीय सामग्री, आईवेयर, फुल, फुटवेयर, खानाको परिकार, फर्निचर र डेकोरेसन, गि्रटिङ कार्ड, हेल्थ र सौन्दर्य, घरायसी सामग्री, गरगहना, चलचित्र, संगीत, कार्यलय सामग्री, पेन्टिङ, घरमा पालिने जनावर, पूजा सामग्री, स्पेसल गिफ्ट आईटम, खेलकुद सामग्री, स्टेसनरी,  किताबहरू, खेलौना, घडी, भ्याकेसन प्याकेज, सवारी साधनदेखि लेख्ने कलमसम्म उपलब्ध गराएका छन्।

सबै सामग्री उपलब्ध भए पनि पेमेन्ट नभएको अवस्थामा भने अनलाइन सपिङ गर्न गार्‍हो हुन्छ। त्यसका लागि भर्चुअल ब्यालेन्स्ा भएको अकाउन्ट हुनु आवश्यक हुन्छ। त्यसैले नेपालमा भने लोकल पेपालका रूपमा रहेका कुनै पनि सेवामा आबद्ध हुनुपर्छ। सपिङ सेन्टरहरूले पनि यसको सरुवात गरेका छन्। भाटभटेनी डिपार्टमेन्ट स्टोर अनलाइन डटकमबाट गएर उपभोक्ताले चाहिएका समानहरू अर्डर गरे केही समयमै घरमा आइपुग्छ।

0 comment(आफ्नो कमेन्ट गर्न यहाँ क्लिक गर्नुहोला):